हेटौंडा/ बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्नेमा जोड दिनुभयो।
उहाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा साना–ठूला सबैखाले भ्रष्टाचारविरुद्ध कठोर कारबाही गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, साना भ्रष्टाचारका मामिलामा मात्र ध्यान दिनु पर्याप्त होइन, ठूला संस्थागत भ्रष्टाचारलाई पनि समान रूपमा नियन्त्रण गर्नुपर्छ।
उहाले सुशासनको पक्षमा अख्तियारको भूमिका महत्वपूर्ण रहेको भन्दै निष्पक्ष अनुसन्धान र कारबाही गर्न जोड दिनुभयो। साथै, भ्रष्टाचार न्यूनीकरणका लागि विद्यालय तथा कलेजहरूमा इमान्दारिता, पारदर्शिता र सुशासन सम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने धारणा राख्नुभयो।
यसै अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि कानून निर्माणमा सक्रिय रहेको बताउनुभयो। अख्तियार बागमतीका प्रमुख उमाकान्त आचार्यले भ्रष्टाचार बढेको जनगुनासोको सम्बोधन गर्दै अनुसन्धानलाई तीव्र बनाइएको उल्लेख गर्नुभयो।
कार्यक्रममा अख्तियारका उत्कृष्ट चार कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको थियो जसमा शाखा अधिकृत इन्द्रप्रसाद भट्टराई, नायब सुब्बा यमुना बस्नेत, प्रहरी निरीक्षक स्वागत पोखरेल र सहायक प्रहरी निरीक्षक वीरेन्द्र कार्की रहेका छन्।
समारोहमा सरकारी अधिकारीहरू, सुरक्षाकर्मी, तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

















