हेटौंडा/ नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) को आठौं मकवानपुर जिल्ला अधिवेशन यही शुक्रबार, फागुन २ गते, पिप्ले सामुदायिक वन उपभोक्ता समितिको हलमा आयोजना हुँने भएको छ। अधिवेशनको उद्घाटन बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री प्रेमभक्त महर्जनको प्रमुख आतिथ्यतामा हुने जनाईएको छ।
क्युपेक मकवानपुरका अध्यक्ष प्रह्लाद राईले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत अधिवेशनबारे जानकारी गराएका हुन्। अधिवेशनले आगामी ३ वर्षका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। मकवानपुरमा क्युपेकमा १७५ जना प्रतिनिधि र ३,५०० साधारण सदस्य आवद्ध छन्, भने देशभर १,८७,७१७ जना सदस्य छन्। मकवानपुरमा क्युपेकको स्थापना २०६० सालमा भएको हो।
क्युपेक, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को सशक्त घटक युनियनको रूपमा, अनौपचारिक निर्माण र पर्यावरण क्षेत्रका श्रमिकहरूको पक्षमा राज्यसँग नीति निर्माणमा पहल गर्नुका साथै कार्यस्थलमा पर्ने समस्याहरूलाई सम्बोधन गर्दै आएको छ।

















