हेटौंडा / हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त उपमहानगर घोषणा गरिएको छ। घोषणा कार्यक्रममा सम्बोधन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय तहले समस्या समाधान र विकास निर्माणका कार्यलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
उहाँले बालबालिकाको सर्वाङ्गीण विकासमा राज्यसँगै परिवारको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो। साथै, बालबालिकाको अधिकार र नागरिकको मौलिक हक सुनिश्चित गर्न संघ, प्रदेश, र स्थानीय सरकार मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
बागमती प्रदेशका कार्यबहाक मुख्यमन्त्री प्रकाश श्रेष्ठले हेटौंडा उपमहानगरपालिकालाई महानगर बनाउन आफूहरू प्रतिबद्ध रहेको बताउँदै, महानगरका मापदण्ड पूरा गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उल्लेख गर्नुभयो।

हेटौंडा उपमहानगरपालिकाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४३ सूचकमा शतप्रतिशत नतिजा हासिल गरेको नगर उपप्रमुख राजेश बानियाँले बताउनुभयो । १८ वर्षमुनिका ५०,१९५ बालबालिका रहेको यस उपमहानगरले घोषणापछि दिगोपनाका लागि पाँचवर्षे रणनीतिक योजना समेत तयार पारेको उप प्रमुख राजेश बानियाँ भनाई रहेको थियो।

















