हेटौंडा/ मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा जारी खेलकुद महोत्सव– २०८१ को शुक्रबार औपचारिक रूपमा उद्घाटन भएको छ।
माघ ९ गतेदेखि सुरु भएको उक्त महोत्सवलाई हेटौंडा–४ स्थित हुप्र चौरमा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथि श्रेष्ठले शुभकामना व्यक्त गर्दै विद्यालय तहबाटै विद्यार्थीहरूलाई खेल भावना विकसित गराउने हो भने भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिने बताउनुभयो। उनले भने, “राज्यले खेल क्षेत्रको उचित व्यवस्थापन र यसको विकासलाई प्राथमिकता दिएमा देशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाउन सक्छ। विद्यालय स्तरबाटै बालबालिकालाई खेलमा सहभागी गराउनु आजको आवश्यकता हो।”
कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देलले ठूला भौतिक संरचना मात्रले विकासलाई पूर्णता नदिने भन्दै शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीहरूको शारीरिक तथा बौद्धिक विकास गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। उनले भने, “विकास भनेको भौतिक संरचना मात्र होइन। खेलकुदले विद्यार्थीहरूलाई अनुशासित, आत्मनिर्भर र स्वस्थ बनाउँछ, जुन हाम्रा लागि उत्तिकै महत्वपूर्ण छ।”
उद्घाटन समारोहपछि वडा नम्बर–४ ले वृहत र्यालीको आयोजना गर्दै र्यालीमा सत्यम जेभिर्यस माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय मावि, रोज एकेडेमी इङ्गलिस स्कुल र भुटनदेवी माविका विद्यार्थी तथा शिक्षकहरू सहभागी रहेका थिए।
महोत्सवअन्तर्गत विभिन्न विद्यालयहरूले विभिन्न खेल प्रतियोगिताहरूको व्यवस्थापन गरेका छन्। आधुनिक माविले भलिबल, भुटनदेवी माविले क्रिकेट, र नवोदय शिशु सदनले बास्केटबल प्रतियोगिता आयोजना गरेका छन। वडा कार्यालयले यी विद्यालयहरूलाई सम्बन्धित खेल सामग्रीहरू समेत हस्तान्तरण गरेको छ।

कार्यक्रममा शैक्षिक गुणस्तर सुधार सिमति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, वडा–५ का वडा अध्यक्ष शुशिल घिमिरे, वडा–१० का वडाअध्यक्ष फूर्वा दोर्जे लामा लगायतको उपस्थिति रहेको थियो ।

















