नेता बानियाँद्वारा पश्चिम मकवानपुरका जनतासँग छलफल

Image

हेटौंडा / नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले मकवानपुरको पश्चिमी क्षेत्र मनहरीस्थित सम्पर्क कार्यालयमा जनताको गुनासो सुन्ने र समाधानका उपायबारे छलफल गर्नुभएको छ।

मकवानपुर संघीय क्षेत्र नम्बर २ प्रदेश ख अन्तर्गतका कैलाश, राक्सीराङ, मनहरी गाउँपालिका तथा हेटौंडा उपमहानगरपालिका-३ र १९ का जनप्रतिनिधि तथा स्थानीय अगुवासँग विकास निर्माण, आवश्यकताहरू र समस्याका विषयमा छलफल गरिएको थियो।
छलफलमा नेता बानियाँले भौगोलिक अवस्था र प्राथमिकताको आधारमा खानेपानी, सडक, विद्युत् लगायतका भौतिक पूर्वाधार विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, पश्चिमी क्षेत्रमा गाँजा तथा अफिम ओसारपसारको नाममा निर्दोष गरिब जनताले जेल जानुपर्ने अवस्थाको समाधानका लागि ऐन निर्माणका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो।

बानियाँले गाँजाको विकल्पमा स्थानीय स्तरमा आत्मनिर्भर हुने अन्य व्यावसायिक खेतीको प्रवर्द्धन गर्न जनप्रतिनिधिहरूलाई विशेष बजेटको व्यवस्था गर्न आग्रह गर्दै प्रदेश तथा संघीय सरकारसँग पहल गर्ने बताउनुभयो।
जनताको गुनासो सुन्ने साझा सम्पर्क केन्द्रको रूपमा कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उहाँले प्रत्येक महिनामा दुई पटक जनतासँग प्रत्यक्ष छलफल तथा गुनासो संकलन गरिने जानकारी दिनुभयो।
यस छलफल कार्यक्रममा मकवानपुर संघीय क्षेत्र नम्बर २ ख का जनप्रतिनिधि तथा स्थानीय जनताको उपस्थिति रहेको थियो।