हेटौंडा/ हेटौंडा ७ नागश्वतीमा मुख्य कार्यालय रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समिक्षा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा व्यवस्थापक रामशरण गौतमले श्रावणदेखि पौष मसान्तसम्मको वित्तीय विवरण, कार्ययोजना, तथा प्रगति अवस्था प्रस्तुत गर्नुभएको थियो। प्रस्तुतीकरण अनुसार, संस्थाको कुल शेयर पूँजी ४ करोड ८४ लाख ९६ हजार, कुल बचत ५७ करोड ३ लाख ८२ हजार, र ऋण लगानी ५५ करोड १२ लाख ७ हजार रहेको छ। संस्थाले ६ महिनामा कुल बजेटको २९.६५% उपलब्धि हासिल गरेको छ।
संस्थाले १३ जना सदस्य तथा उनीहरूका परिवारलाई ४५ हजार ७ सय दुर्घटना खर्च, एक जनालाई १० हजार घातक रोग उपचार खर्च, तथा ३५ जना सुत्केरीलाई ७० हजार पोषण खर्च वितरण गरेको छ। कार्यक्रममा सहभागीहरूले स्वीकृत कार्यक्रम समयमै सम्पन्न गर्ने, नियमित बचत तथा कर्जा असुलीलाई प्रभावकारी बनाउने, र वार्षिक लक्ष्य अनुसार रणनीति निर्माण गर्न सुझाव दिएका थिए।
संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष विजयबहादुर बस्नेत, विभिन्न समिति तथा उपसमितिका संयोजक, सदस्य, तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। संस्थाका ७,१८० जना सदस्य रहेका छन्।
कार्यक्रममा जिल्ला बचत संघ लिमिटेडद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने सहभागीलाई प्रशंसापत्र र नगद पुरस्कारसहित सम्मान गरिएको संस्थाका संञ्चार प्रमुख सुशिल सुवेदीले बताउनुभयो।

















