हेटौंडा ११ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

Image

हेटौंडा / हेटौंडा-११ थानाभर्‍याङमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-६ खयरघारीकी ३५ वर्षीया पूजा बम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
शुक्रबार साँझ करिब ८ बजे चितवनतर्फ गइरहेको ना ४ ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो। घाइते तीनै जनालाई थानाभर्‍याङस्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो, जहाँ उपचारको क्रममा बम्जनको राति मृत्यु भएको नायवउपरीक्षक श्यामु अरियालले जानकारी दिनुभयो।

दुर्घटनामा मृतक बम्जनका ११ वर्षीय छोरा अमृत बम्जन र अटो चालक हेटौंडा-१९ बासघारीका २५ वर्षीय राजु थिङ घाइते भएका छन्। अटो चालकको अवस्था गम्भीर रहेको छ भने अमृतको अवस्था सामान्य रहेको अरियालले जानकारी दिनुभयो।
प्रहरीले ट्रक चालक, चितवन राप्ती नगरपालिका-२ पिप्लेका ४८ वर्षीय कान्छा राईलाई नियन्त्रणमा लिएको छ।