हेटौंडा / भिमफेदी गाउँपालिकामा पालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता फागुन ४ गते देखि ७ गतेसम्म आयोजना हुने भएको छ। भिमफेदी गाउँपालिकाको आर्थिक सहयोग र निब्टा क्लबको व्यवस्थापनमा सञ्चालन हुने यस प्रतियोगितामा ११ टोली सहभागी हुने क्लबका अध्यक्ष दिनेश लामाले बताउनुभयो।
शनिबार निब्टा क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दिनेश लामाले निब्टा क्लब स्थापना कालदेखि नै वार्षिकोत्सव तथा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी गराउनुभयो।
भिमफेदी–४ का वडाध्यक्ष सागर पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रतियोगिताका लागि खेल तालिका सार्वजनिक गरिएको थियो। प्रादेशिक भलिबल रेफ्री मनोज लामा र क्षेत्रीय रेफ्री शंकर कार्कीको सहभागीमा ११ टोलीबीच गोलाप्रथामार्फत खेल तालिका निर्धारण गरिएको थियो।
खेल आज १२ बजेदेखि हुने छ भने प्रतियोगिताका लागि कुल लागत रु. ३,९५,६८० रहेको छ, जसमा भिमफेदी गाउँपालिकाले रु. ३,००,००० आर्थिक सहायता उपलब्ध गराएको छ भने बाँकी रु. ९५,६८० निब्टा क्लबले व्यहोर्नुपर्ने प्रतियोगिताका संयोजक अनिल अधिकारीहरुले जानकारी दिनुभयो। विजयी टिमलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ— प्रथम हुने टिमलाई रु. ३०,००० तथा दोस्रो स्थान हासिल गर्ने टिमलाई रु. २०,००० प्रदान गरिनेछ। साथै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट रेजर र उदयमान खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगितामा भिमफेदी–२ बाट सिक्स ब्रदर र कालिकाटार युवा क्लब, ३ बाट झल्कने बोइज, ४ बाट पान्द्राङ्ग युवा क्लब, निब्टा “ए”, निब्टा “बी” र चिउरीबगैँचा, ५ बाट सुपिङ युवा क्लब, ६ बाट भिमफेदी युवा “ए” र “बी” क्लब तथा भिमफेदी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको टोली सहभागी हुने उहाले बताउनुभयो

















