रजैया बस्ती जोगाउन तटबन्धन निर्माण: अफवाह विरुद्ध स्थानिय संग प्रतक्ष्य छलफल

Image

हेटौंडा /  मनहरी गाउँपालिका–९, रजैयाको बस्ती जोगाउन निर्माण भइरहेको तटबन्धन र पार्किङ क्षेत्रको विषयमा विभिन्न अफवाह फैलिएको भन्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र वडा अध्यक्ष राजकुमार श्रेष्ठले स्थानीयसँग प्रत्यक्ष छलफल गरेका छन्।
रजैया बस्ती बचाउ अभियान अन्तर्गत चोकदेखि खोला किनारसम्म तटबन्ध निर्माण तथा ठूला ढुंगा (बिग बोल्डर) राख्ने काम भइरहेको छ। तर, केही व्यक्तिले सामाजिक सञ्जालमा गाउँपालिका अध्यक्षकै मेसिन र टिपर प्रयोग गर्न योजना बनाइएको आरोप लगाएपछि अध्यक्षले स्थानीयबासीलाई निर्माणस्थलमै बोलाएर स्पष्टिकरण दिएका हुन्।

स्थानीय तहको धारणा
९ नम्बर वडा सदस्य पर्वदेव अधिकारीले सामाजिक सञ्जाल र मिडियामा फैलाइएका भ्रामक सूचनाले काम गर्न कठिनाइ उत्पन्न गरिरहेको बताए। वडा अध्यक्ष श्रेष्ठले निर्धारित स्टमेटभन्दा बढी काम भइरहेको उल्लेख गर्दै गाउँपालिका अध्यक्षको व्यक्तिगत स्वार्थका लागि कुनै
योजना नबनाइएको स्पष्ट पारे। गाउँपालिका अध्यक्ष कालाखेतीले कार्यपालिका बैठकमार्फत टहरा हटाइएको स्थानमा व्यवस्थित पार्किङ निर्माण र तटबन्धनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए। समितिको अनुरोधमा बस्ती सुरक्षाका लागि माटो फिलिङ गर्न मेसिन पठाइएको र बचत भएको रकमबाट बिग बोल्डर राखिएको निर्माण समितिका अध्यक्ष राजकुमार विश्वकर्माले बताए।

सकारात्मक प्रभाव
यस तटबन्धन निर्माणबाट करिब एक हजार घरधुरी लाभान्वित हुने र व्यवस्थित पार्किङले दुर्घटनाको जोखिम घट्ने
स्थानीयबासीले बताएका छन्। अध्यक्ष कालाखेतीका अनुसार बचत भएको रकमको सही उपयोग गरेर बस्तीको सुरक्षाका लागि थप काम गरिएको हो।

स्थानीय सरकारले चालेका यी कदमहरू न्यायोचित छन् वा विवादास्पद? तपाईंको विचारमा, सामाजिक सञ्जालमा फैलाइएका यस्ता अफवाहले विकास निर्माणलाई कस्तो असर पुर्‍याउँछ?