हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिकामा बुधबारदेखि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजनामा खेलकुद विकास समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
भवानी माध्यमिक विद्यालयको खेलमैदानमा दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा गाउँपालिकाभित्रका छ वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी रहेका छन्। प्रतियोगिताको उद्घाटन खेलकुद विकास समितिका संयोजक मोहन वाईवा र पालिका अध्यक्ष लोकबहादुर मोक्तानले संयुक्त रूपमा गर्नुभएको थियो।
उद्घाटन समारोहमा अध्यक्ष मोक्तानले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ पहिलो पटक खेलकुद विकास समितिमार्फत प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो। विगतमा विद्यालयहरूको व्यवस्थापनमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्षदेखि ऐनअनुसार समितिमार्फत गरिएकाे उहाले बताउनुभयो।
“गत वर्ष जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा कैलाशले एक स्वर्ण, तीन रजत, र दुई कास्य पदक जित्न सफल भएको थियो,” अध्यक्ष मोक्तानले भन्नु भयो, “यस वर्ष हामी त्यसभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छौं।” उहाले खेलाडीहरूलाई अनुशासित र मर्यादित भएर प्रतिस्पर्धा गर्न आग्रह गर्दै, भौगोलिक विकटता हुँदाहुँदै पनि गाउँपालिकाले शिक्षा र खेलकुदको विकासलाई प्राथमिकता दिइरहेको बताउनुभयो।
उनका अनुसार यसै वर्षदेखि कैलाशको कालिका माविलाई एसईई परीक्षाको केन्द्र तोकिएको छ। यसअघि हेटौँडा, थाहा, मनहरीजस्ता ठाउँमा परीक्षा दिन जानुपर्ने बाध्यता हटेसँगै विद्यार्थीहरू अब आफ्नै गाउँपालिकामा परीक्षा दिन सक्नेछन्।
यस्तै पालिका उपाध्यक्ष बालकुमार मल्लले विद्यालयस्तरबाटै खेलकुदको विकास गर्न सके राष्ट्रिय खेलाडी उत्पादन गर्न सहज हुने बताउनुभयो।
प्रतियोगितामा भलिबल, मार्सल आर्ट, र एथ्लेटिक्स गरी तीन विधाका खेलहरू समावेश छन्। एथ्लेटिक्सतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, र ८०० मिटर दौड, हाइजम्प, लङजम्प, र सटपुटजस्ता खेलहरू सञ्चालन गरिने गाउँपालिका सुचना अधिकारी प्रकाश राईले बताउनुभयो।

















