हेटौंडा/ मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-९ स्थित खैरानमा रहेको देविथान आधारभूत विद्यालयको नयाँ भवनको शिलान्यास गरिएको छ। गाउँपालिकाको खैरानस्थित सलेनीमा रहेको विद्यालयको नयाँ भवन शुक्रबार नेकपा (एमाले)का प्रमुख सचेतक महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यता साथै राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लको बिशिष्ट आथित्यतामा शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख सचेतक बर्तौलाले भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरूले भवन अभावका कारण कठिन परिस्थितिमा अध्ययन गर्नुपर्ने बाध्यता हट्ने बताउनुभयो । साथै, विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयको नयाँ भवन संघीय सरकारअन्तर्गत शहरी विकास मन्त्रालयको १ करोड लागतमा सघन शहरी तथा भवन निर्माण आयोजना, चितवनले निर्माण गर्न लागेको हो। हाल विद्यालयमा कक्षा १ देखि ५ सम्म पठनपाठन हुँदै आए पनि कक्षा कोठाको अभावका कारण सबै विद्यार्थी एउटै कक्षा कोठामा अध्ययन गर्न बाध्य छन्।

















