तुल्सी मेहर विद्यालयको ४३ औँ वार्षिक उत्सव फाल्गुन १५ गते हुने

Image

हेटौंडा/  हेटौँडा–10 मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले यही फाल्गुन १५ गते ४३ औँ वार्षिक उत्सव तथा अभिभावक भेला गर्ने भएको छ। मङ्गलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा विद्यालय प्रशासनले वार्षिक उत्सव तथा अभिभावक भेलाको विस्तृत जानकारी गराएको हो।

विद्यालयका प्रिन्सिपल रघुनाथ खरालका अनुसार वार्षिक उत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले गर्ने कार्यक्रम तय भएको छ।
उत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिनेछ। विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गर्ने योजना बनाएको छ भने सप्ताहव्यापी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिनेछ।

यस अवसरमा होटल म्यानेजमेन्ट संकाय कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले खाना महोत्सव आयोजना गर्नेछन्। त्यस्तै, विज्ञान तथा सामाजिक विषयका शैक्षिक प्रदर्शनी समेत प्रस्तुत गरिनेछ।
हाल विद्यालयमा १,१५० विद्यार्थी अध्ययनरत छन्। विद्यालय व्यवस्थापनले वार्षिक उत्सवलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिरहेको जानकारी दिएको छ।