कैलाश गाउँपालिकामा अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल सुरु

Image

हेटौंडा / मकवानपुरको कैलाश गाउँपालिकामा आजबाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले गरेका थिए। प्रतियोगितामा उपाध्यक्ष बालकुमार मल्ल विशेष अतिथि रहेका थिए भने खेलकुद विकास समितिका संयोजक मोहन वाइवाको अध्यक्षता रहेको थियो।
उद्घाटन खेलमा वडा ७ विजयी
प्रतियोगिताको उद्घाटन खेल वडा नम्बर १ र ७ बीच सम्पन्न भयो। खेलमा वडा ७ ले २-१ गोल अन्तरले विजयी शुरुवात गरेको छ। खेलको पाँचौं मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए। दोस्रो हाफको १९ औं मिनेटमा सागर चेपाङले अर्को गोल थपे। वडा १ का तर्फबाट शिशिर नेगीले इन्जुरी समयमा एक गोल फर्काए। खेलको ‘म्यान अफ द म्याच’ वडा ७ का सागर चेपाङ घोषित भए। उनलाई गाउँपालिका अध्यक्ष मुक्तानले ट्रफी प्रदान गरे।
दोस्रो खेलमा वडा ४ को जित
आजै सम्पन्न दोस्रो खेलमा वडा ४ ले वडा २ लाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्‍यो। निर्धारित समयमा दुवै टिमले १-१ गोल गरेपछि खेल पेनाल्टीमा गएको थियो। वडा ४ का गोलरक्षक सबल प्रजा खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।
भोलि चार खेल हुने
नकआउट चरणमा खेलाइएको प्रतियोगितामा बिहीबार चार खेल हुनेछन्। आयोजकका अनुसार पहिलो खेल वडा १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा ५ र ३ बीच खेलिनेछ। तेस्रो खेल वडा ७ र ९ तथा चौथो खेल वडा ४ र ८ बीच प्रतिस्पर्धा हुनेछ।
कैलाश गाउँपालिका मैत्रीपूर्ण खेलमा विजयी
कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा कैलाश गाउँपालिका १-० गोल अन्तरले विजयी भएको छ। कैलाशका रोजगार संयोजक हस्तराम नेगीले गरेको एकमात्र गोल निर्णायक बन्यो। विजेतालाई ट्रफी र मेडल प्रदान गरिएको थियो।
प्रतियोगिता सफल बनाउन प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा २ का अध्यक्ष राजेन्द्र घिसिङ, वडा ३ का अध्यक्ष देवलाल बल, वडा ७ का अध्यक्ष उदास कुमार भोलन, वडा ९ का अध्यक्ष भुवन घलान लगायतको उपस्थिति रहेको थियो।