फागुन २१ गतेदेखि चैत्र ४ गतेसम्म मनहरीमा खेलकुद तथा व्यापार महोत्सव हुने

Image

हेटौंडा/ मनहरी गाउँपालिकामा खेलकुद तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले “मनहरी खेलकुद तथा व्यापार महोत्सव २०८१” आयोजना हुने भएको छ। आज मनहरी गाउँपालिकाको लामिटारमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको विस्तृत विवरण सार्वजनिक गरिएको हो।

फागुन २१ गतेदेखि चैत्र ४ गतेसम्म चल्ने उक्त महोत्सव मनहरी गाउँपालिकास्थित मनहरी-८ सिम्पानी गणेशधारा खेलकुद मैदानमा आयोजना गरिनेछ। आयोजक समितिका अध्यक्ष विरु लामाका अनुसार महोत्सवमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन र एथलेटिक्सजस्ता खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने जानकारी दिनुभयो।
यस्तै बिजेताकालागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। फुटबलमा प्रथम हुने टोलीलाई एक लाख रुपैयाँ, भलिबल (पुरुष) मा प्रथम हुनेलाई पचास हजार, क्रिकेटमा प्रथम हुनेलाई दुई लाख तथा ब्याडमिन्टनमा प्रथम हुनेलाई बीस हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। साथै, एथलेटिक्सतर्फ १०० मिटर र २०० मिटर दौड (खुला) प्रतियोगिता समेत समावेश गरिएको छ।

महोत्सवमा करिब २०० व्यापारिक, मनोरञ्जनात्मक र प्रदर्शनी स्टलहरू राखिनेछन्। मनोरञ्जनात्मक कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरू ज्योति मगर, दुर्गेश थापा, एलिना चौहानलगायतका प्रस्तुति रहनेछ। स्थानीय कलाकारहरूलाई समेत प्रस्तुतिको अवसर दिइने आयोजकले जनाएका छन्।
महोत्सवको मुख्य उद्देश्य स्थानीय खेलाडीहरूको पहिचान गर्दै राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नुका साथै व्यापार प्रवर्द्धन गर्नु रहेको छ। आयोजकका अनुसार महोत्सव अवधिभर एक लाखभन्दा बढी दर्शकहरूको उपस्थिति रहने र करोडौं रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

खेलकुद विकास समिति, मनहरीको आयोजनामा हुन लागेको महोत्सवको संरक्षक मनहरी गाउँपालिका रहेको छ भने व्यवस्थापनको जिम्मेवारी एभरेस्ट इभेन्ट म्यानेजमेन्टलाई दिइएको छ। पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष विरु लामा सहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
“यस महोत्सवले मनहरी क्षेत्रको खेलकुद, व्यापार र मनोरञ्जन क्षेत्रमा नयाँ उचाइ ल्याउने विश्वास गरेका छौं,” आयोजक समितिका अध्यक्ष लामाले बताउनुभयो।