सिन्धुपाल्चोक भूकम्पको क्षति कहाँ कहाँ के के भयो ? क्षति विवरण संकलन जारी

Image

हेटौंडा/ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भूकम्पको क्षति विवरण सङ्कलन कार्य जारी रहेको जनाएको छ। हालसम्म प्राप्त विवरण अनुसार भूकम्पले हल्लाएपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोक कारागारमा रहेका एक कैदी बन्दी घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिनुभयो हाल उनको उपचार भइरहेको बताउनुभयो।

त्यस्तै, इलाका प्रहरी कार्यालय गोदारीको भवन चर्किएको र सो कार्यालयमा बस्ने जवानहरू भने सुरक्षित रहेको उहाले जानकारी दिनुभयो। भूकम्पका कारण भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुख्खा पहिरो गएको छ। उक्त पहिरोमा मानवीय क्षति भने हुन नपाएको नेपालीले बताउनुभयो।
विपद्पछिको उद्धारलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको टोली आवश्यकता अनुसार फिल्डमा खटिएको उहाले जानकारी दिनुभएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो। हाल भूकम्पको परकम्प जाने क्रम जारी रहेको छ। बिहान ७ बजेर ३५ मिनेट जाँदासम्म २३ वटा परकम्प गएको केन्द्रले जनाउदै सुरक्षित रहन आग्रह गरेको छ।