बागमती प्रदेश स्तरीय साहित्य महोत्सवको भव्य उद्घाटन

Image

हेटौंडा / बागमती प्रदेश स्तरीय पहिलो साहित्य महोत्सव शुक्रबार धादिङबेसीमा भव्य रूपमा उद्घाटन गरिएको छ। महोत्सवको उद्घाटन गर्दै बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले साहित्य मानव समाजको ऐना भएको उल्लेख गर्दै न्याय, चेतना, परिवर्तन र रुपान्तरणको प्रमुख उत्प्रेरक भएको बताउनुभयो। उहाले साहित्य र कला खुसी तथा समृद्ध जीवनको आधार भएको उल्लेख गर्नुहुँदै मानवबीचको द्वन्द घटाई प्रेम, मानवता, एकता र सौहार्दताको बीजारोपण गर्ने महत्वपूर्ण विधा भएको धारणा राख्नुभयो।

उहाँले साहित्यलाई मानव मस्तिष्कको उपज मात्र नभई भावना र संवेदनाको अभिव्यक्ति पनि भएको बताउनुभयो । यस्तै साहित्यले कला, संस्कृति, मूल्य, मान्यता र सभ्यतालाई उजागर गर्ने उल्लेख गर्दै इतिहासका विभिन्न कालखण्डमा साहित्यको योगदानलाई बिर्सन नहुने बताउनुभयो। उहाँले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन तथा निरंकुशता विरुद्धका संघर्षहरूमा साहित्यिक कलमले चेतना, जागरूकता र आन्दोलनको आँधीबेहरी सिर्जना गरेको स्मरण गराउनुभयो।

बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नीलकण्ठ नगरपालिकाको सह-आयोजनामा दुई दिने महोत्सवको शुभारम्भ गरिएको हो। उद्घाटन समारोह बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले शुभकामना व्यक्त गर्दै साहित्यले सम्राटहरूलाई समेत नाङ्गो पार्ने शक्ति राख्ने भएकाले यसको संरक्षण र प्रवर्द्धनमा सरकारको प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा बागमती प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता गोबिन्द लम्साल, नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्री दहाल, नीलकण्ठ बालमन्दिर मावि व्यवस्थापन समितिका अध्यक्ष दिपक कोइराला, महोत्सव व्यवस्थापन तथा सहजीकरण समितिका अध्यक्ष विष्णु आचार्य लगायतले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि प्रदेश र स्थानीय सरकारको सक्रिय सहभागिता आवश्यक रहेको जोड दिनुभयो।

महोत्सवको अवसरमा धादिङबेसी पुछारबजारबाट तामाङ, नेवार लगायतका संस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको थियो। र्‍यालीले बजार परिक्रमा गर्दै स्थानीय कला, संस्कृति र परम्परागत पहिचानको प्रवर्द्धन गरेको थियो।