हेटौंडा/ डिजिटल सञ्चार माध्यमको स्थायित्व, सञ्चालन, र निरन्तरताका चुनौतीहरूसँगै नीति, नियत, र नियतिको आवश्यकताबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। स्वस्तिक मिडिया प्रालिको आयोजनामा भएको उक्त कार्यक्रम स्वस्तिक मिडिया प्रालिका अध्यक्ष रविन्द्र गौतमको सभाध्यक्षतामा भएको हो।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले डिजिटल सञ्चार माध्यमका वर्तमान चुनौतीहरूमाथि प्रकाश पार्दै, नागरिक पत्रकारिताको वृद्धि संगै प्रमाणित सूचना प्रवाह गर्ने जिम्मेवारी अझ बढेको बताउनुभयो। उहाले अनुसन्धानमूलक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो।
वरिष्ठ पत्रकार तथा ‘तु खबर’का सम्पादक गिरिजा अधिकारीले मिडियाको टिकाउपनका लागि सामग्री उत्पादनमा लगानी आवश्यक रहेको औंल्याउँदै, नेपालमा गुणस्तरीय सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताउँदै सञ्चार रजिस्ट्रारको भूमिकाबारे स्पष्टता आवश्यक रहेको उहाको भनाइ रहेको थियो।
प्रेस चौतारी नेपाल, मकवानपुरकी अध्यक्ष सरिता दाहालले तथ्यपरक समाचार प्रवाहलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै पत्रकारहरूलाई जिम्मेवार बन्न आग्रह गर्नु भयो।
सामाजवादी प्रेस संगठन नेपाल मकवानपुका जिल्ला उपाध्यक्ष जी न्यौपानेले मिडिया क्षेत्रमा पाटिगत विभेद भइरहेको आरोप लगाउँदै सबैलाई समान अवसर प्रदान गर्नुपर्ने धारणा राख्दै उहाले सम्मानित हुने विषयमा समेत माग गर्नुपर्ने अवस्थाले मिडिया क्षेत्रमा असमानता व्याप्त रहेको संकेत गर्छ भन्दै यस्ता विभेद अन्त्य गर्नुपर्ने बताउनुभयो। यस्तै उहाले पत्रकारिता पेशा जोखिमपूर्ण भएकाले यसलाई सुरक्षित र मर्यादित बनाउन सबै सञ्चार संगठनहरू एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
पत्रकार मञ्जु मैनालीले सत्य खोज्दा धेरै कठिनाइ भोग्नुपरेको अनुभव सुनाउँदै अनुसन्धानमूलक पत्रकारितालाई प्रवद्र्धन गर्न अग्रज पत्रकारहरूको मार्गदर्शन र साथको आवश्यक रहेको बताउनुभयो ।
प्रेस सेन्टर मकवानपुरका अध्यक्ष एमपी शर्माले विज्ञापन नीतिलाई न्यायोचित बनाउनुपर्नेमा जोड दिनुभयो। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण शारु मगरले डिजिटल मिडियाको विकासलाई दीगो बनाउन सरकारी नीतिहरूलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
अन्य सञ्चारकर्मीहरूले पत्रकारिता क्षेत्रका विभिन्न समस्याहरू उठाउँदै मिडिया स्थायित्वका लागि नीति निर्माण, नियमन प्रणालीको सुधार, पत्रकारहरूको हकहित संरक्षण, र अनलाइन पत्रकारिताको विश्वसनीयता वृद्धि गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।
बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले श्रमजीवी ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै मिडियाहरूले मर्जर प्रक्रियालाई अघि बढाउनुपर्ने धारणा राख्दै उहाले पत्रकारहरूलाई तथ्यपरक समाचार निर्माणमा ध्यान दिन आग्रह गर्नु भयो।
कार्यक्रममा मकवानपुरका विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी, अग्रज पत्रकार, सञ्चारसम्बन्धी संघसंस्थाका प्रतिनिधिहरू, तथा बागमती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालयका अधिकारीको उपस्थिति रहेको थियो। सहभागिहरूले डिजिटल पत्रकारिताका चुनौती समाधानका लागि नीति निर्माताहरूले गम्भीर पहल गर्नुपर्ने आवश्यकता रहेको निष्कर्ष निकालेको थियो।

















