हेटौंडा / ११५औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चारिका समूह नेपाल मकवानपुरले ‘सामाजिक रूपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। हेटौंडा-४ स्थित नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा महिला पत्रकारिताका विविध पक्ष, चुनौती र समाधानबारे गहन छलफल गरिएको छ।
कार्यक्रममा महिलाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले समूहलाई २ सय थान सेनेटरी प्याड हस्तान्तरण गर्नुभयो। महिलाको स्वास्थ्य र स्वच्छताको विषयलाई प्राथमिकतामा राख्दै सेनेटरी प्याड वितरण गरिएको आयोजकहरूले जानकारी दिएको छ।
महिला पत्रकारिताको वर्तमान अवस्था
नेपालमा महिलाहरू अझै पनि पारिवारिक जिम्मेवारीको कारण सार्वजनिक भूमिकामा सहज रूपमा आउन सकिरहेका छैनन्। हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामाले घरको कामलाई मात्र महिलाको कर्तव्य ठान्ने परम्परा तोड्नुपर्ने बताउनुभयो। “छोरा-छोरीलाई सानैदेखि समान संस्कार दिनुपर्ने,मा जोड दिनुभयो।
आर्थिक समस्या र अवसरको खोजी
महिला पत्रकारितामा आर्थिक अस्थिरता एउटा प्रमुख चुनौती हो। नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी पूर्व उपाध्यक्ष सम्झना कार्कीका अनुसार, “पत्रकारहरूले अरूको समस्या उजागर गर्छन्, तर आफ्नै समस्या कहिल्यै उठाउँदैनन्।” पत्रकारिता पेशामा दिगोपन ल्याउन राज्य र सञ्चार संस्थाले आर्थिक सुरक्षाका उपाय अपनाउनु जरुरी रहेको उहाले बताउनुभयो।
महिला पत्रकारका लागि विशेष कोषको माग
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले महिला पत्रकारहरूका लागि विशेष कोष स्थापना गर्न आग्रह गर्दै स्थानीय सरकारहरूले पेन्सन कोष, उपचार कोष जस्ता संरचनात्मक नीतिहरू लागू गरेमा महिला पत्रकारितामा स्थायित्व ल्याउन सकिन्छ।
महिला पत्रकारिता: समस्या होइन, सम्भावना
स्वतन्त्र पत्रकार सुरेश श्रेष्ठले महिलाहरू इमानदार, सहनशील र निष्ठावान् हुने बताउँदै, “महिला मैत्री वातावरण सिर्जना गर्नुपर्छ।” पत्रकार जमुना तामाङले मकवानपुर जिल्लाका महिला पत्रकारहरूको अवस्था झल्काउने प्रतिवेदन प्रस्तुत गर्दै महिलाहरूबीच एकता आवश्यक रहेको बताउनुभयो। यस्तै पत्रकार सुनिता विष्टले महिला पनि पुरुषसरह समान रूपमा कार्यरत रहेको भन्दै महिलाहरूको योगदानको कदर हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रम सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न सञ्चार माध्यमका पत्रकार, प्रतिनिधिहरूको सहभागिताले यो विषयप्रति चासो बढ्दै गएको देखिन्छ।

















