हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत बासुदेव मार्गमा बनेको एक संरचनालाई अनधिकृत रूपमा निर्माण गरिएको भन्दै वडा कार्यालयले १५ दिने भत्काउने सूचना जारी गरेको छ। उक्त सूचनापछि सम्बन्धित घरधनीहरू चिन्तित बनेका छन्।
वडाले कित्ता नम्बर २३३१ मा नक्सा पास नगरी संरचना बनाइएको भन्दै कारबाही अघि बढाएको हो। तर, प्रभावित पक्षले कुनै छलफलबिना सूचना जारी गरिएको आरोप लगाएका छन्। शिवकुमारी पाठकको नाममा रहेको जग्गाबारे स्पष्ट उल्लेख नगरिएको र अर्जुन न्यौपाने तथा सीमा न्यौपानेको नाममा सूचना पठाइएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।
पीडित अर्जुन न्यौपानेले भने,”मैले यहाँ जन्मेर ५७ वर्ष बिताइसकेको छु। मेरो घर अगाडि १२ मिटर चौडाइको बाटो छ, जसअनुसार नै घर निर्माण गरिएको हो। निर्माणका क्रममा कुनै आपत्ति नआए पनि अहिले आएर व्यक्तिगत रिसिइबीका आधारमा संरचना भत्काउन खोजिएको छ।”
शिवकुमारी पाठकले वडा कार्यालयलाई प्रश्न गर्दै भनिन्, “हामीले पैतृक सम्पत्तिमा कानुनी प्रक्रिया पूरा गरेर घर बनाएका हौँ। यहाँ अन्य थुप्रै अवैध संरचनाहरू छन्, तिनलाई केही नगरि केवल हाम्रोमात्र भत्काउन खोज्नु किन?”
पीडित पक्षले आफ्नो संरचना भत्काउनु अन्यायपूर्ण भएको भन्दै यसबारे छानबिन गरी न्याय दिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

















