हेटौंडा/ हेटौडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि सुरु भएको दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाण्डौले जितेको छ। सोमबार हेटौडामा सम्पन्न फाइनल खेलमा किङकम भेट्रान्सले ट्राईब्रेकरमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौलाई पराजित गर्दै उपाधि जितेको हो।
फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाण्डौको तर्फबाट कृष्ण मालाकारले १४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। निर्धारित समयमा दुवै टोलीले एक-एक गोल गरेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो। ट्राईब्रेकरमा किङकम भेट्रान्सले ३-२ गोल अन्तरमा विजय हासिल गर्यो।
किङकम भेट्रान्सले नगद १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ पुरस्कारस्वरूप प्राप्त गर्यो। फ्रिडम फाइटर भेट्रान्सले दोस्रो स्थान हासिल गर्दै नगद ७५ हजार ५ सय ५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ।
प्रतियोगितामा किङकम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ कोच राजकुमार पन्त, उत्कृष्ट फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भए। फ्रिडम फाइटर भेट्रान्सका तर्फबाट उत्कृष्ट मिडफिल्डर उदय बहादुर गुरुङ र सर्वश्रेष्ठ खेलाडी तेन्जिङ लामा घोषित भए।
हेटौडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले विजयी खेलाडीलाई पुरस्कार वितरण गर्दै खेलकुदको महत्व र युवापुस्ताका लागि यसको प्रभावलाई जोड दिइन्। प्रतियोगितामा विभिन्न सरकारी अधिकारी र संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिती थियो।

















