कैलाश गाउँपालिकामा पहिलोपटक एसइई परीक्षा केन्द्र : खाना र आवासको व्यवस्था गाउँपालिकाले गर्ने

Image

हेटौंडा/  मकवानपुरको  कैलाश गाउँपालिका, जसले भौगोलिक विकटता र दुर्गम स्थलका कारण विगतमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को लागि परीक्षा केन्द्र नभएको थियो, अब पहिलोपटक एसइई परीक्षा केन्द्र पाउने भएको छ। आगामी चैत ७ गतेबाट सुरु हुने एसइई परीक्षाको लागि कैलाश–९ स्थित कालिका माध्यमिक विद्यालयलाई परीक्षा केन्द्रको रूपमा तोकिएको छ।

गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानका अनुसार, यस निर्णयसँगै पालिकाभित्रका विद्यार्थीलाई हेटौँडा, मनहरी र थाहा जस्ता क्षेत्रहरूमा परीक्षा दिन जानुपर्ने बाध्यता अन्त्य  भएको र यसअघि यी स्थानमा परीक्षा दिन जाने यात्राले विद्यार्थीलाई धेरै कठिनाइमा पारिरहेको थियो।
भौगोलिक विकटताका कारण विद्यार्थीहरूको केन्द्र पुग्न असहज अवस्था रहेको थियो। अध्यक्ष मोक्तानले भन्नु भयो”हामीले परीक्षाका अवधिमा विद्यार्थीहरूका लागि खाना र आवासको व्यवस्था विद्यालय परिसरमै गरेका छौं। यसका लागि आवश्यक सबै खर्च गाउँपालिकाले व्यहोर्ने छ।”
परीक्षा केन्द्रको रूपमा चयन गरिएको कालिका माध्यमिक विद्यालयमा कैलाश गाउँपालिकाभित्रका पाँचवटा माध्यमिक विद्यालयका विद्यार्थीले परीक्षा दिन पाउनेछन्। यसरी, पालिकाभित्रको विद्यार्थीलाई अब परीक्षा दिने नयाँ अवसर प्राप्त हुनेछ।

कैलाश गाउँपालिकाका पाँच विद्यालयबाट १४९ जना विद्यार्थी नियमित परीक्षा दिन तयारीमा छन् भने, ग्रेडवृद्धिका लागि ६७ जना विद्यार्थी परीक्षा दिन पाउनेछन्। कुल २१६ जना विद्यार्थी एसइई परीक्षा दिन योग्य भएका छन्। गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।