हेटौंडा/ हेटौंडा उपमहानगरपालिका-१० स्थित बसपार्क क्षेत्रमा प्रहरीले गुण्डागर्दी नियन्त्रण गर्न थप कडाइ गरेको छ। सोमबार राति बसपार्क क्षेत्रमा मादकपदार्थ सेवन गरी होहल्ला र कुटपिट गर्दै प्रहरीमाथि समेत हातपात गर्ने हेटौंडा-१८ हर्नामाडीका भीम लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, राति करिब १० बजेको समयमा लोप्चनले हेटौंडा दोहोरी साँझ अगाडि एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी चौकी बसपार्कका इन्चार्ज बिमल ढुंगेलले उनलाई सम्झाउने प्रयास गर्दा लोप्चनले प्रहरीमाथि नै जाइलागेका थिए। यसक्रममा प्रहरीले लगाएको बर्दीसमेत च्यातिएको थियो।
लोप्चनलाई नियन्त्रणमा लिन वडा र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी परिचालन गर्नु परेको थियो। उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको छ भने ५ दिन म्याहाद थप गरी अनुसन्धान भईरहेको इन्चार्ज बिमल ढुंगेलले बताउनुभयो।
लोप्चनमाथि यसअघि पनि बारम्बार कुटपिट, धम्की दिने र सिसा फुटाइदिने जस्ता क्रियाकलापमा संलग्न भएको आरोप छ। केही समय अघि उनले हेटौंडा उपमहानगरपालिकाको बसपार्कमा रहेको पसलको सिसा फुटाएपछि जरिवाना तिराउने कागज गराइएको भए तापनि उनले जरिवाना रकम ४० हजार तिर्नु पर्ने मा १० हजार मात्रै तिरेको र अरु बाकि रकम तिर्नुपर्ने रहेको प्रहरीले जानकारी दिएको छ।
महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने तथा अपशब्द प्रयोग गर्ने उनको प्रवृत्तिले पनि प्रहरीलाई हैरान बनाएको छ। प्रहरीका अनुसार, लोप्चनले आफू राजनीतिक पहुँच भएको भन्दै बारम्बार धम्की दिने गरेकाे प्रहरीले जानकारी दिएको छ।
हेटौंडा बसपार्कमा प्रहरीले गुण्डागर्दी नियन्त्रणमा कडाइ

नयाँ प्रकाशित
# ट्रेण्डिङ
















