हेटौंडा/ मकवानपुरको राक्सिराङ गाउँपालिकामा भूमि समस्या समाधान आयोगले अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम आयोगको भूमि समस्या समाधान अभियानअन्तर्गत बागमती
गाउँपालिकाबाट सुरु भएको थियो।
कार्यक्रमका क्रममा भूमि आयोग मकवानपुरका अध्यक्ष बलराम बलले राक्सिराङका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न आयोगले प्रतिबद्धता जनाउँदै प्रभावकारी रूपमा काम गर्ने बताउनुभयो। उहाँले भने, “हामी आश्वासन मात्र दिँदैनौं, व्यवहारमा समाधान दिन कटिबद्ध छौं। एकपटक आयोगले काम गरेपछि फेरि यस्तो आयोगको आवश्यकता पर्ने छैन।”
अध्यक्ष बलले आयोगको कार्य सफल बनाउन गाउँपालिका र वडास्तरबाट सहकार्य आवश्यक रहेको बताउँदै प्रमाणिकरण भएका फाइलहरू समयमा आयोगमा पठाउन अनुरोध गर्नुभयो।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफ्नो क्षेत्रका धेरैजसो प्रमाणिकरण भएका फाइलहरू लामो समयदेखि अड्किएको बताउँदै आयोगको सक्रिय पहल आवश्यक रहेको उल्लेख गर्नुभयो। “राक्सिराङ विकट क्षेत्र हो र यहाँका जनताको समस्या धेरै छन्। आयोगले चाँडै काम सुरु गरोस्, हामी पालिका र वडाबाट फाइल पठाउनेछौं,” मल्लले आग्रह गर्नुभयो। साथै, छुट जग्गा दर्ताका लागि थप सूचना प्रकाशन गर्न आग्रह पनि गर्नुभयो।
भूमि समस्या समाधान आयोगका सदस्य कविन सांगामीका अनुसार राक्सिराङ गाउँपालिकामा प्रमाणित फाइलअनुसार १,६८४ परिवार पहिचान भएका छन्, जसमा भूमिहीन दलित ३३ जना, भूमिहीन सुकुम्बासी ३५० जना र अव्यवस्थित सुकुम्बासी १,३०१ जना छन्।
कार्यक्रममा आयोगका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाईं, सदस्य डिल माया घर्ती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीम बहादुर राना, वडा अध्यक्षहरू र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको राक्सिराङ्ग गाउँपालिका सूचना अधिकारी रोमन पुडासैनीले जानकारी दिनुभयो।

















