हेटौंडा / राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव तथा युवा नेता निराजन बमलाई चितवन प्रहरीले आज बिहान चितवन विमानस्थलबाट पक्राउ गरेको छ। संगठनले यो घटनालाई सरकारको आडमा प्रहरी प्रशासनद्वारा गरिएको मनमानी र पूर्वाग्रहपूर्ण कार्यको रूपमा व्याख्या गरेको छ।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीले बिज्ञप्तिमा उल्लेख गर्दै पक्राउप्रति घोर आपत्ति र भर्त्सना प्रकट गरेका छन्। उनले , “राष्ट्रवादी युवा नेतालाई पक्राउ गर्नु सरकारको आडमा गरिएको अन्यायपूर्ण र पूर्वाग्रहपूर्ण कार्य हो। यस्तो कार्यले नागरिकको वैयक्तिक स्वतन्त्रता र राजनीतिक गतिविधिलाई अवरोध पुर्याउँछ।”
केसीले यो घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप र सरकारको अधिनायकवादी चरित्रको प्रमाणको रूपमा चित्रण गर्दै उनले प्रश्न गरेका छन, “विभिन्न राजनीतिक दलका नेताहरूले खुलेआम एकअर्कालाई गम्भीर आरोप लगाउँदा कुनै कारबाही नहुने तर राष्ट्रवादी युवालाई आफ्नो विचार व्यक्त गर्दा मात्रै पक्राउ गरी कारबाही गर्नु के कानुनसम्मत हो?”
संगठनले सम्बन्धित निकायलाई तत्काल निराजन बमलाई बिना शर्त रिहाई गर्न माग गरेको छ। साथै, भविष्यमा यस्ता गैरकानुनी र पूर्वाग्रहपूर्ण कार्यहरू नदोहोऱ्याउन र सबै नागरिकलाई समान रूपले हेर्न आग्रह गरिएको छ। संगठनले चेतावनी दिएको छ कि यदि निराजन बमलाई तत्काल रिहाई नगरिएमा थप आन्दोलनका कार्यक्रमहरू सञ्चालन गरिने बिज्ञप्तिमा उल्लेख गरीएको छ।

















