एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा : मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

हेटौंडा/ काठमाडौ राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसईई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिएका छन्।
बोर्डले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्ला केन्द्रमा पुर्‍याइसकेको जनाएको छ।
मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी
चैत ७ गतेबाट सुरु हुने एसईई परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन्। नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ विद्यार्थीले परीक्षा दिनेछन्। यस वर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ विद्यार्थी परीक्षा दिनेछन्।
परीक्षा केन्द्रको व्यवस्था
शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुविद गिरीका अनुसार मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएका छन्। गत वर्ष २६ वटा परीक्षा केन्द्र तोकिएकोमा यस वर्ष दुईवटा केन्द्र थपिएका छन्। थपिएका केन्द्रहरूमा कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक मावि रहेका छन्।

परीक्षा सुरक्षाका लागि कडा व्यवस्था
प्रमुख गिरीका अनुसार सबै स्थानीय तहहरूमा केन्द्राध्यक्षहरूलाई प्रशिक्षण दिएर जिम्मेवारी दिइएको छ। परीक्षा सुरक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइने  बताएका छन्।
उनले टाढाका सबै पालिकामा प्रश्नपत्र र उत्तरपुस्तिका पुर्‍याइसकेको जानकारी दिँदै नजिकका केन्द्रमा पनि एक–दुई दिनभित्र पुर्‍याउने तयारी भइरहेको बताएका छन्।