हेटौंडा / कैलाश गाउँपालिकाको आयोजना र कैलाश गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा ‘तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१’ आयोजना हुने भएको छ। प्रतियोगिता यहि २०८१ साल चैत १६ गतेदेखि १८ गतेसम्म कैलाश-३, कालिकाटार खेलमैदानमा सञ्चालन गरिनेछ।
खेलकुदलाई प्रोत्साहन गर्दै गाउँपालिका स्तरीय अन्तर वडा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरुले २०८१ साल चैत १३ गतेसम्म आवश्यक कागजातसहित गाउँपालिकाको शिक्षा शाखामा टिम दर्ता गराउनु पर्नेछ। खेल तालिका भने चैत १४ गते दिउँसो ३ बजे सार्वजनिक गरिनेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडीहरु सम्बन्धित वडाका हुनुपर्नेछ। १६ वर्ष भन्दा माथिका खेलाडीहरुको लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य छ भने १६ वर्षभन्दा कम उमेरका खेलाडीहरुको हकमा सक्कल जन्मदर्ता अनिवार्य पेश गर्नुपर्नेछ। बसाइँसराईको हकमा यो सूचना प्रकाशित भएको मितिले ६ महिना अगाडि सम्बन्धित वडामा अनलाईन दर्ता भएको हुनुपर्नेछ।
खेलाडीहरूको समूहमा १० खेलाडी, १ प्रशिक्षक, १ म्यानेजर र ३ अफिसियल गरी कुल १५ जना सम्म सहभागी हुन पाउनेछन्।
खेल तालिका अनुसार खेलाडीहरुको खाना र वस्नको व्यवस्थापन आयोजकले गर्नेछ भने खाजाको व्यवस्थापन टिम आफैले गर्नुपर्नेछ। साथै, सहभागी खेलाडीहरुलाई गाउँपालिकाबाट जर्सि प्रदान गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ७५,०००।- र दोस्रो हुने टिमलाई नगद रु. ५०,०००।- पुरस्कार सहित शील्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई ट्रफि पनि प्रदान गरिने संयोजक मोहन वाईवाले जानकारी दिनुभयो।

















