देशभरका ४३ जिल्लाबाट करिब ५०० जना साइकल यात्री हेटौंडा टु सौराहा राइड गर्ने

Image

हेटौंडा/ स्वास्थ्य, वातावरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘राइड हेटौंडा टु सौराहा– २०८२’ आगामी वैशाख १२ र १३ गते आयोजना गरिने भएको छ। साइकल सिटी हेटौंडाको मुख्य आयोजना तथा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालय र आन्तरिक मामिला तथा योजना मन्त्रालयको सहयोजनामा कार्यक्रम सम्पन्न गरिने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

कार्यक्रममा देशभरका ४३ जिल्लाबाट करिब ५०० जना साइकल यात्री सहभागी हुने अनुमान गरिएको छ। इच्छुक साइकल राइड गर्न इच्छुक जुनसुकै उमेर समूहका भए पनि नाम दर्ता गरी कार्यक्रममा सहभागी हुन सक्ने आयोजकले जनाएको छ।

हेटौंडा उपमहानगरपालिकाका बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरू भ्रमण गरि हेटौंडा देखि चितवन सौराहा क्षेत्रमा रहेका बिभिन्न धार्मिक,सास्कृतिक क्षेत्रहरूको अवलोकन गरि १३ गते समापन हुने आयोजकले बताएको छ। यस्तै राइडको अनुमानित खर्च २४ लाख रुपैयाँ रहेको साइकल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालले बताए। बाहिरी जिल्लाबाट सहभागी हुने साइकल यात्रीहरूका लागि खानपान तथा आवासको उचित व्यवस्था मिलाइने पनि आयोजकले जानकारी गराएको छ।