हेटौंडा/ मकवानपुरको कैलास गाउँपालिका–६ दुम्सीखर्क जंगलमा लागुऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गर्दै पेस्तोल लुटेर फरार भएका छन्। ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको टाइप–५४ पेस्तोल लुटिएको हो, जसमा ७ राउण्ड गोली लोड थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्राती लागुऔषध कारोबार भइरहेको सूचना पाएर जंगल पुगेका थिए। प्रहरीले २ केजी अफिम र एक मोटरसाइकल बरामद गरेपछि ठूलो समूहले उनीहरूलाई घेराबन्दी गरी कुटपिट गर्दै हतियार लुटेर फरार भएका हुन्।
घटनापछि डीएसपी श्यामु अर्यालको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको छ। आरोपीहरूको खोजीमा मकवानपुर, मनहरी, गजुरी लगायतका सुरक्षा टोली परिचालित छन् भने ६० जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हालसम्म लुटिएको हतियार फेला परेको छैन।

















