हेटौंडा/ मकवानपुर जिल्ला नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच हुल तथा दंगा व्यवस्थापनसम्बन्धी संयुक्त सिमुलेशन अभ्यास सम्पन्न भएको छ। उक्त अभ्यास मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिका–१, सामरी पुल नजिक रहेको खाली चौरमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्व राज खड्का, सशस्त्र प्रहरी बल हेटौंडा १४ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सन्तोष विक्रम शाह, प्रमुख सेनानी निरञ्जन धामी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल प्रहरी कार्ययोजना २०८१ बमोजिम आयोजना गरिएको यो अभ्यासको मुख्य उद्देश्य दंगा नियन्त्रणमा प्रभावकारीता ल्याउनु तथा बल प्रयोगको क्रममा मानव अधिकारको सम्मान गर्दै प्रहरी कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नु रहेको प्रमुख खड्काले बताउनुभयो। संयुक्त अभ्यासले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।
तालिमका क्रममा सुरक्षाकर्मीहरूलाई भीड नियन्त्रणका आधुनिक प्रविधि, रणनीति तथा बल प्रयोगका सीमाहरूबारे प्रशिक्षण प्रदान गरिएको थियो। यस प्रकारका अभ्यासले सुरक्षा संयन्त्रलाई अझ व्यवस्थित तथा कुशल बनाउने सरोकारवालाहरूको विश्वास रहेको छ।

















