आगलागी पीडितलाई नेपाली काँग्रेस राक्सिराङ–४ द्वारा राहत वितरण

Image

हेटौंडा / नेपाली काँग्रेस राक्सिराङ गाउँपालिका–४ वडा कार्यसमितिले आगलागीबाट पीडित बनेका रामबहादुर थिङलाई राहत वितरण गरेको छ।

गाउँपालिका–४ स्थित तर्सिकोटका थिङको घरमा हालै भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको थियो। आइतबार नेपाली काँग्रेस वडा सभापति विकास ब्लोन नेतृत्वको टोली पीडितको घरमै पुगेर राहत वितरण गरेको हो।

सभापति ब्लोनका अनुसार आगलागीमा अन्नपात, लत्ताकपडा, भाँडाकुडा, सोलार प्यानललगायतका सामग्री पूर्ण रूपमा नष्ट भएका छन्। आगलागीबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ।
पीडित परिवारलाई तत्काल राहतस्वरूप दुई बोरा चामल, पाँच किलो दाल, एक थान बाल्टिन, एक थान मग, त्रिपाल, नुन, तेल, मसला, बेसार, मस्यौरा, गोलभेंडा लगायतका खाद्यान्न सामग्री वितरण गरिएको वडा कार्यसमितिले जनाएको छ।

राहत वितरण कार्यक्रममा काँग्रेस वडा सचिव टिकाराम थिङ, युवा नेता जोक मुक्तान, सञ्जिव मुक्तानलगायत स्थानीय नेताहरूको पनि उपस्थिति रहेको थियो। तत्कालका लागि पीडित परिवारको आवश्यकतालाई ध्यानमा राख्दै राहत उपलब्ध गराइएको वडा सभापति ब्लोनले जानकारी दिनुभयो।