हेटौंडा / सिमलटार टोल विकास संस्था, हेटौंडा उपमहानगरपालिका वडा नं. ११, मकवानपुरको १३औं वार्षिक साधारण सभा तथा अधिवेशन चैत्र २५ गते भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथि रहनु भएको थियो भने वडा नं. ११ का अध्यक्ष जुना दाहाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। त्यसैगरी, वडा सदस्य विकास नेपाल, सञ्जय बिडारी, गोपिनी सापकोटा, गिता सुनार, नगर समन्वय समिति अध्यक्ष यज्ञ बहादुर आचार्य, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देव कुमार श्रेष्ठ, सहायक हवल्दार निमा भन्डारी, खेलकुद विकास समिति अध्यक्ष प्रभाकर पुडासैनी, संस्थाका पूर्व अध्यक्षहरू, छिमेकी टोल विकास संस्थाका अध्यक्षहरूसमेत कार्यक्रममा सहभागी भएका थिए।
सभामा संस्थाका अध्यक्ष सूर्यमान लामाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरू साझा गर्नुभयो। उहाँका अनुसार, सडक स्तरोन्नति, खानेपानी तथा विद्युत् विस्तार, सामुदायिक भवन निर्माण, महिला लक्षित कार्यक्रम, धार्मिक स्थल संरक्षण, पर्यटकीय विकास लगायतका योजनाहरू सफलतापूर्वक सम्पन्न भएका छन्।
अध्यक्ष लामाले बुद्धचोकस्थित मन्दिर पुनर्निर्माण, एकल महिला भवन निर्माण, गुम्बा निर्माण, धूप उत्पादन तालिम, पोल–वाकेट–तार जडान, फोहर व्यवस्थापन तथा आमाको मूर्ति स्थापनाजस्ता परियोजनाहरूमा वडा, नगर, प्रदेश तथा संघ सरकारसँग समन्वय गरी उल्लेखनीय प्रगति हासिल गरिएको जानकारी दिनुभयो।
सभामा आगामी वर्षका लागि खेलमैदानको स्तरोन्नति, कृषि तथा सिप विकास तालिम, निष्क्रिय कृषि फर्मको पुनर्संरचना, स्ल्याब ढलान तथा नाला निर्माण, नाङ्गो तार हटाउने कार्य, मठ–मन्दिर तथा सामुदायिक भवन निर्माण, स्वास्थ्य तथा जनचेतना कार्यक्रम, लागुऔषध नियन्त्रणजस्ता योजना प्रस्तुत गरिएका थिए।
कार्यक्रमको समापनमा संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति सदस्य तथा बचत सदस्यहरूप्रति आभार व्यक्त गर्दै, अध्यक्ष लामाले संस्थाको सक्रिय, पारदर्शी र सहभागीमूलक कार्यशैलीलाई निरन्तरता दिन समुदायको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो। साथै, समावेशी, वातावरणमैत्री र दिगो नगर विकासमा संस्थाको भूमिका अझ प्रभावशाली बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो।

















