हेटौंडा / आईतवार दिउँसो मकवानपुरगढीमा भएको अटो दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक सुर्जकुमार मगरको उपचारको क्रममा निधन भएको छ। हेटौंडा-८ निवासी ५४ वर्षीय मगरको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा आज दिउँसो १२:२० बजे निधन भएको प्रहरीले पुष्टि गरेको छ।
हेटौंडाबाट मकवानपुरगढीतर्फ गइरहेको अटो एक्कासी अनियन्त्रित भई नालामा खस्दा मगर गम्भीर घाइते भएका थिए। प्रारम्भिक उपचारका लागि उनलाई हेटौंडा अस्पताल लगिएको थियो, तर त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको थियो।
अवस्था गम्भीर भएपछि उनलाई साँझकै समयमा काठमाडौँको अन्नपूर्ण अस्पतालमा लगिएको थियो।
मगरकी छोरीका अनुसार, अटो गुडिरहेको अवस्थामा एक्कासी पड्किएको आवाज आएको र त्यसपछि सवारी साधन अनियन्त्रित भई नालामा खसेको थियो। प्रहरीका अनुसार, अटोको चालक बस्ने माथिल्लो भागमा ढुंगा लागेको देखिएको र गियरमा समेत क्षति पुगेको पाइएको छ।

















