हेटौंडा / तीनकुने घटनामा एभिन्यज टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएपछि सञ्चारकर्मी समाज शोकमा डुबेको छ। यही सन्दर्भमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले बुधबार हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरी श्रद्धाञ्जली सभा आयोजना गर्दै न्यायको माग गरेको छ।
कार्यक्रममा जिल्लाका अग्रज पत्रकारदेखि युवा सञ्चारकर्मीहरू समेत सहभागी थिए। उपस्थितले रजकको आत्माको चिर शान्तिको कामना गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेका थिए।
कार्यक्रमको अध्यक्षता महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले गरेका थिए भने महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट र उपाध्यक्ष हरि हुमागाई लगायतको उपस्थिति रहेको थियो।
पत्रकार महासंघले तीनकुने घटनालाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मी सुरक्षामाथिको गम्भीर खतरा भन्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ।

















