हेटौंडा/ मकवानपुरको बकैया गाउँपालिका–३ स्थित चिसापानी बजार नजिक धरान–चतरा सडकखण्डमा भक्करै यात्रुबाहक बस दुर्घटना भएको छ।
भिमफेदी गाउँपालिकाको कृषि तथा पशु शाखाद्वारा आयोजना गरिएको अगुवा कृषक भ्रमणमा सहभागी यात्रुहरू बोकेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको रिजर्भ बस अनियन्त्रित भई सडकको घुम्तिमा दुर्घटनामा परेको हो। बस सिन्धुलीबाट हेटौंडातर्फ जाँदै थियो।

घटनाको जानकारी पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय हातिसुडेबाट प्रहरी निरीक्षक जनकबहादुर तामाङको नेतृत्वमा र फापरबारीबाट प्रहरी निरीक्षक रामशरण दुलालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी टोलीले घाइतेहरूको उद्दार गरी हेटौंडा अस्पतालतर्फ पठाएको छ। दुर्घटनामा कति जना यात्रु घाइते भएका छन् भन्ने विस्तृत विवरण आउन बाँकी भए पनि प्रारम्भिक जानकारीअनुसार २–३ जना गम्भीर घाइते भएको बताइएको छ।
घाइतेहरूको विवरण संकलन कार्य भइरहेको र थप जानकारी पछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ।

















