हेटौंडा/ मकवानपुरको कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठ कैलाश क्षेत्रमा होमस्टे सेवा सञ्चालन हुने भएको छ। पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रलाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होमस्टे सञ्चालनको तयारी थालिएको हो।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार बैकुण्ठ क्षेत्र ऐतिहासिक र प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्र हो। हाल जीपलाइन सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेकाले पर्यटक आगमनको सम्भावना उच्च रहेको बताउँदै उनले भने, “आगन्तुकलाई खाना र आवासको सुविधा उपलब्ध गराउन होमस्टे प्रारम्भ गर्न लागिएको हो।”
होमस्टे सञ्चालनका लागि १७ जना स्थानीयलाई चार दिने स्थलगत अध्ययन भ्रमणमा पठाइएको थियो। उनीहरूले स्याङ्जाको सिरुबारी, लमजुङको घलेगाउँ र गोरखाको बारपाक क्षेत्रका सफल होमस्टे परियोजनाको अवलोकन गरेका थिए। फर्किएपछि चितवनका प्रशिक्षक टिकाराम पौडेलबाट तीन दिने व्यावसायिक तालिम दिइएको वडा नं. २ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिनुभयो।
तालिममा घरको सटावट, पाहुनाको स्वागत-सत्कार, विदाई, सेवा व्यवस्थापन तथा कानुनी पक्षबारे जानकारी दिइएको थियो। तालिम पश्चात सहभागीलाई वडा भित्रका विभिन्न सम्भावित होमस्टे स्थलको अवलोकन भ्रमणसमेत गराइएको गाउँपालिका उद्यम विकास शाखा प्रमुख प्रमिला अर्यालले बताउनुभयो।
धादिङ, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकासँग सिमाना जोडिएको बैकुण्ठ क्षेत्रलाई आगामी दिनमा व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष मुक्तानले जानकारी दिनुभयो।

















