हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।
हेटौंडा उपमहानगरपालिका–१८, ठुलोदमारका ४३ वर्षीय प्रदिप श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ४५ प ३४६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनाको सूचना पाएपछि प्रहरी निरीक्षक ललिता ढकालको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर घाइते श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
श्रेष्ठको अनुहारमा गम्भीर चोट लागेको र हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।

















