हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नं. ६ स्थित नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा बादर प्रभावित किसानहरूलाई बेसारको बीउ वितरण गरेको छ। उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा ३५ जना किसानलाई १० देखि ४० केजीसम्म बेसारको बीउ प्रदान गरिएको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उहाँले बादरका कारण परम्परागत खेती गर्न कठिन भएको अवस्थामा बेसार खेतीलाई प्रवर्द्धन गर्न बीउ वितरण गरिएको बताए। साथै, टनेल खेती तथा बीउ प्रवर्द्धनका लागि वडा कार्यालयले विशेष योजना तयार पारेको र कार्यान्वयन गरिरहेको जानकारी समेत दिनुभयो।
संस्थाका अध्यक्ष विष्णु ढुंगानाले माग र जग्गाको क्षेत्रफलअनुसार किसानहरूलाई बीउ वितरण गरिएको र आगामी वर्ष फिर्ता गर्ने शर्तमा वितरण गरिएको बताए। साथै, सहकारीले चाँडै नै तेल मिल सञ्चालनको तयारी गरिरहेको समेत जानकारी दिनुभयो।
चार सय २१ शेयर सदस्य रहेको नौलो बिहानी कृषि सहकारीले बादर आतंकका कारण अन्य बालीमा क्षति व्यहोर्दै आएका किसानहरूलाई वैकल्पिक खेतीको रुपमा बेसार उत्पादनमा आकर्षित गर्ने प्रयास गरेको छ। कार्यक्रममा कृषि प्राविधिक बिन्दु पोख्रेल, वडा सदस्यहरू, विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा किसानहरूको उपस्थिति रहेको थियो।

















