हेटौंडा / मे १ — १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हेटौंडामा विविध कार्यक्रम आयोजना गरी दिवस मनाइएको छ। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को पहलमा फरेष्टिगेटबाट सुरु भएको र्यालीले हेटौंडा बजार परिक्रमा गर्दै श्रमिक अधिकारको सन्देश प्रवाह गरेको थियो।
कार्यक्रममा विभिन्न पेसागत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहनुका साथै हेटौंडा क्षेत्रका उद्योग, कलकारखाना तथा कार्यालयमा कार्यरत श्रमिकहरूले सक्रिय सहभागिता जनाएका थिए।
प्रत्येक वर्ष मे १ तारिखका दिन मनाइने यस दिवसले श्रमिकहरूको पेसागत गरिमा, अधिकार तथा सम्मानको प्रत्याभूति गराउने उद्देश्य राखेको छ। सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा विश्राम, आठ घण्टा मनोरञ्जन’ नाराका साथ सुरु भएको श्रमिक आन्दोलनको स्मृतिमा विश्वभर यो दिवस मनाइन्छ।
नेपालमा पहिलोपटक २००७ सालमा विराटनगरमा मजदुर आन्दोलनमार्फत यो दिवस मनाउन थालिएको हो। २०४६ सालपछि यो दिन सार्वजनिक बिदाको रूपमा समेत घोषणा गरिएको छ। यस अवसरमा आज मुलुकभर सार्वजनिक बिदा रहेको छ।

















