प्रेस चौतारी मकवानपुरद्वारा प्रतिनिधिहरूलाई सम्मान, वार्षिक योजना सार्वजनिक

Image

हेटौंडा/ प्रेस चौतारी नेपाल मकवानपुरले केन्द्र र प्रदेशस्तरमा चयन भएका आफ्ना प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिँदै औपचारिक कार्यक्रममार्फत वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौतारी मकवानपुरले संगठनका विभिन्न तहमा प्रतिनिधित्व गर्ने सञ्चारकर्मीहरूलाई सम्मानस्वरूप बधाई पत्र प्रदान गरेको हो।

केन्द्रीय सदस्यमा सर्वसम्मत रूपमा चयन भएका शिवकुमार रिजाल, पुष्पराज अधिकारी, उज्वल अधिकारी र आरती ढकाललाई सम्मान गरिएको थियो। त्यस्तै, बागमती प्रदेश कमिटीमा महासचिव प्रकाश दाहाल, कोषाध्यक्ष रामशरण दुलाल र सदस्यहरू विवश अधिकारी, रुपक कालीराज, रविन ढुंगाना र सुनिता विष्टलाई समेत बधाईसहित शुभकामना दिइएको थियो।
सञ्चारिका समूह बागमती प्रदेशमा चयन भएकी नानीमाया सापकोटा र मकवानपुर जिल्ला अध्यक्षमा चयन भएकी निशा गुरुङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो।

कार्यक्रममा प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालले आगामी वर्षका लागि संगठनको कार्ययोजना प्रस्तुत गरेकी थिइन्। कार्ययोजनामा मकवानपुरमा प्रेस चौतारीको कार्यालय निर्माणका लागि जग्गा खोजी र भवन निर्माणलाई प्राथमिकता दिइएको छ। साथै, पत्रकार सम्मान तथा पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने र त्यसको ब्याजबाट सम्मान तथा प्रोत्साहन दिने उल्लेख छ।

त्यस्तै, चौतारी उपचार कोष स्थापना गरी आकस्मिक स्वास्थ्य समस्या वा दुर्घटनामा सहयोग गर्ने, अनलाइन पत्रिका सञ्चालन गरी आगामी कार्यसमितिलाई हस्तान्तरण गर्ने, तथा पत्रकार महासंघको सदस्यता विस्तारमार्फत चौतारीको प्रभावशाली उपस्थिति बनाउने लक्ष्य लिएको छ।

प्रत्येक ६ महिनामा सदस्यहरूको लेखन तथा पार्टी प्रचारप्रति योगदानको समीक्षा गर्दै मूल्यांकन तथा सम्मान गर्ने, कार्यालय व्यवस्थापन सुधार गर्दै आवश्यक सामग्री व्यवस्थापनका लागि पहल गर्ने योजना पनि कार्ययोजनामा समावेश गरिएको छ।

कार्यक्रमको अध्यक्षता अध्यक्ष सरिता दाहालले गरेकी थिइन् भने एमाले मकवानपुरकी सचिव सिता विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरी हुमागाईं, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो।