हेटौंडेली सुन्दर धितालको निर्देशनमा ”मीरा” नामक नाटक: रेखा थापाको अभिनय

Image

हेटौंडा/ नेपाली फिल्म उद्योगकी चर्चित अभिनेत्री रेखा थापा अब रंगमञ्चमा पनि देखिने भएकी छन्। उनले ‘मीरा’ नामक नाटकबाट नाट्य यात्राको सुरुवात गर्न लागेकी हुन्।

कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुति रहने यो नाटकको निर्देशन हेटौंडाका कलाकार सुन्दर धितालले गर्दै छन्। नाटक सर्जक दीपक सिंजालीको चर्चित उपन्यास ‘मीरा’ मा आधारित रहेको छ, जसले एउटी महिलाले समाज र पारिवारिक मूल्यहरूसँग गर्ने संघर्षलाई मञ्चमार्फत उजागर गर्नेछ।

कान्तिपुर फिल्म एकेडेमीले नक्साल गैह्रीधारामा आफ्नै प्रांगण निर्माण आरम्भ गरिसकेको छ, जुन अभिनेता राजेश हमालको हातबाट शिलान्यास गरिएको थियो। यही स्थानमा ‘मीरा’ नाटक उद्घाटन प्रस्तुति स्वरूप मञ्चन गरिने  निर्देशक सुन्दर धितालले बताएका छन्।

रेखा थापाले केही दिनअघि सामाजिक सञ्जालमा ‘रेखा कि मीरा?’ भन्ने भावनात्मक क्याप्शनसहितको तस्बिर शेयर गर्दै नाटकमा आफू जोडिएको संकेत गरेकी थिइन्। हाल नाटकको स्क्रिप्ट रिडिङ र अभ्यास सुरु भइसकेको छ।
यो नाटक आगामी जेठ १५ गतेदेखि  आषाढ ७ गते सम्म नियमित रूपमा मञ्चन गरिने निर्देशक धितालले बताएका छन्।