चितवनको विजयी सुरुवात : राष्ट्रिय महिला गोल्डकप २०८२ हेटौंडाबाट प्रारम्भ

Image

हेटौंडा/  राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिता–२०८२ हेटौंडामा शुक्रबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा चितवनले घरेलु टोली मकवानपुरलाई रोमाञ्चक टाइब्रेकरमा ५–४ ले पराजित गर्दै प्रतियोगितामा सशक्त सुरुवात गरेको छ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा सम्पन्न खेल निर्धारित समयको ९० मिनेटसम्म १–१ को बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत तय गरिएको हो। पहिलो हाफ गोलरहित रहँदा दोस्रो हाफको सुरुवातमै चितवनकी अनिता गुरुङले हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। फ्री किकबाट आएको बललाई उत्कृष्ट ढंगले पोस्टमा पठाउँदै उनले खेलमा रोमाञ्चकता थपेकी थिइन्।

खेलको बीचमा नाटकीय मोड आयो, जब मकवानपुर १० खेलाडीमा सीमित हुन पुग्यो। चितवनकी गोलरक्षक सुजता तामाङमाथि गम्भीर फाउल गरेपछि मकवानपुरकी खुसाना राईले रातो कार्ड देखिन्। यद्यपि, खेलको अन्तिम मिनेटमा मकवानपुरकी सजिना स्याङ्तानले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याइन्।

टाइब्रेकरमा चितवनले संयमित प्रदर्शन गर्दै ५–४ को जित निकाल्यो। अनिता गुरुङ खेलकी ‘म्यान अफ द म्याच’ घोषित भइन्। उनले १० हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सुरु गरिएको प्रतियोगितामा पहिलोपटक महिलाबीच प्रतिस्पर्धा गराइएको हो। यसअघि पुरुष गोल्डकप आयोजना हुँदै आएको थियो। प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ, ए डिभिजन क्लब संकटा, तथा मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा गरी आठ टोलीको सहभागिता छ।

विजेता टोलीले ५ लाख रुपैयाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र पाउनेछ भने उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट खेलाडीलाई स्कुटर तथा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी प्रदान गरिनेछ।

करिब ६१ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका हो। प्रतियोगिता बागमती प्रदेश खेलकुद विकास परिषद्, भीमफेदी र कैलाश गाउँपालिका लगायत विभिन्न संस्थाको सहकार्यमा सञ्चालन गरिएको हो।

शुक्रबारको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो। प्रतियोगिताअन्तर्गत शनिबारको खेल बाराको नवजनजागृति क्लब, सिमरा र संकटा क्लबबीच हुनेछ।