हेटौंडामा प्रभातफेरीसहित विश्व प्रेस स्वतन्त्रता दिवस मनाइयो

Image

हेटौंडा/ ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हेटौंडामा आज बिहान प्रभातफेरी सहित विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाइएको छ। नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले कार्यक्रमको संयोजन गर्दै प्रेस स्वतन्त्रताको महत्व झल्काउने उद्देश्यले प्रभातफेरीको आयोजना गरेको हो।

प्रभातफेरी हेटौंडाको स्कुलरोडबाट सुरु भई बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ हुँदै लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षता रहेको थियो भने बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, संस्थापक अध्यक्ष प्रताप विष्ट, पूर्व अध्यक्ष राममणि दाहाल लगायतले सम्बोधन गरेका थिए।

दिवसको सन्दर्भमा बोल्ने वक्ताहरूले स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै डिजिटल युगमा प्रेस स्वतन्त्रता थप चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरे। प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता (एआई) को प्रभाव पत्रकारितामा गहिरिँदै गएको सन्दर्भमा, युनेस्कोले यस वर्षको नाराका रूपमा “Time to put AI on the social agenda” घोषणा गरेको छ। यसले एआईलाई सामाजिक विमर्शको केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रविधिको माध्यमबाट सूचनाको सहज पहुँच बढेको भए पनि, मिथ्या र भ्रामक सूचनाको विस्तारले लोकतान्त्रिक मूल्य र जनचेतनामा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै सचेत रहनुपर्नेमा पत्रकारहरूले जोड दिएका थिए। उनीहरूले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न राज्य, समाज र सञ्चारकर्मीबीच समन्वय आवश्यक रहेको धारणा राखे।