“हेटौंडामा प्रदेशस्तरीय युवा सम्मेलन: नीति संवाददेखि उद्यमशीलता सम्म”

Image

हेटौंडा/ बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबारदेखि सुरु हुने प्रदेश युवा सम्मेलन २०८२ को तयारी अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश युवा परिषद्‌को आयोजनामा हुन लागेको यो तेस्रो संस्करणको सम्मेलनमा भौतिक रूपमा ३०० भन्दा बढी युवाले सहभागिता जनाउनेछन् भने डिजिटल प्लेटफर्ममार्फत हजारौं युवालाई समेट्ने तयारी गरिएको छ।

तीन दिने सम्मेलनमा युवाबीच नीति संवाद, सीपको सशक्तिकरण, रोजगारीका सम्भावना र उद्यमशीलताको प्रवर्द्धन जस्ता महत्वपूर्ण विषयमा छलफल हुने आयोजकको भनाइ छ।

शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै परिषद्‌का उपाध्यक्ष सन्तोष चौलागाईंले यो सम्मेलनले युवालाई शासन प्रक्रिया र निर्णय निर्माणमा प्रत्यक्ष जोड्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अब शासन प्रणालीमा युवाको उपस्थिति देखिनेछ, युवा आफ्ना सवाल लिएर नीति निर्माणमै सरिक हुनेछन्।”

सम्मेलनका प्रमुख विषयवस्तुहरूमा कृषि क्षेत्रमा युवा नवप्रवर्तन, प्रविधिमा पहुँच, जलवायु परिवर्तनको असर र दिगो विकास, सीपमूलक तालिमको प्रभावकारिता, र नेतृत्व भूमिकामा युवाको भूमिका समावेश गरिनेछ। साथै, मुख्यमन्त्रीसँग प्रत्यक्ष संवादको अवसर समेत प्रदान गरिनेछ।

पछिल्लो दुई वर्षमा परिषद्‌ले सञ्चालन गरेका सीप तालिमबाट १०,५०० भन्दा बढी युवा दक्ष जनशक्ति बनेका छन् भने ४०५ जना युवा आफ्नै व्यवसाय सुरु गरिसकेको परिषद्‌को तथ्याङ्क छ।

२०७८ मा गरिएको सर्वेक्षण अनुसार नीति संवादको मंच नपाएका ७५० जना युवाको आवश्यकतालाई ध्यानमा राख्दै सम्मेलनको अवधारणा विकास गरिएको हो।

सम्मेलनको विशेष आकर्षणमा युवा उद्यमीहरुको प्रदर्शनी, प्रेरणादायी अनुभव, अन्तरप्रदेशीय रोजगारी संवाद, चुरियामाई मन्दिर अवलोकन तथा हाइकिङ, र प्रतिभा प्रदर्शनजस्ता गतिविधिहरू पनि समावेश गरिने आयोजकले जनाएको छ।

प्रदेश युवा परिषद्‌को अनुसार, सम्मेलनको समापनमा घोषणा पत्र समेत सार्वजनिक गरिनेछ, जसले भविष्यमा युवा सम्बन्धी नीतिनिर्माणलाई मार्गदर्शन गर्नेछ।