भौतिक पूर्वाधारदेखि संस्कृति संरक्षणसम्म वडाको बहुआयामिक सक्रियता
हेटौंडा/ “विकास जनताको लागि हो, त्यसैले यसमा जनताको प्रत्यक्ष सहभागिता र अपनत्व अनिवार्य छ,” हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले शुक्रवार आयोजित वडास्तरीय सुझाव संकलन तथा समीक्षा भेलामा भन्नु भयो।
भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा तथा संस्कृतिको प्रवर्द्धन, वातावरण संरक्षण र सामाजिक अभियानहरूलाई प्राथमिकतामा राखेर वडाले कार्य गरिरहेको जानकारी दिँदै अध्यक्ष सिग्देलले वडा नं. ४ नगरको मुटु भएकाले प्रतिनिधिमूलक कार्य अगाडि बढाउन अझ सशक्त ढंगले लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागी भएका ९ वटा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले वडा कार्यालयका कार्यप्रति सन्तुष्टि जनाउँदै आगामी योजनाहरू अझ जनमुखी, दिगो र समावेशी बनाउन सुझाव दिएका थिए। उनीहरूले विकासलाई चौतर्फी ढंगले अघि बढाउन साथ र सहयोग रहने स्पष्ट प्रतिबद्धता जनाए।
वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा सम्पन्न भेलामा समाजसेवी प्रदीप कोइराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी लगायत ९ वटा टोल विकास संस्थाका अध्यक्षहरू र टोलबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
हेटौंडा उपमहानगरपालिका वडा ४ का सचिव रामप्रसाद गुरागाईंका अनुसार बाँकी १७ वटा टोल विकास संस्थासँगको सुझाव संकलन तथा समीक्षा भेला वैशाख २९ गतेसम्म सम्पन्न गरिनेछ।

















