मनहरि स्थित प्रजा मावि सिद्धकालीमा अभिभावक भेला सम्पन्न, कक्षा ९ को पठनपाठन औपचारिक रूपमा सुरु

Image

हेटौंडा /  मनहरी–३ — प्रजा माध्यमिक विद्यालय, मनहरी गाउँपालिका–३ सिद्धकालीमा आज एक विशेष अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा विद्यालयको हालसम्मको प्रगतिबारे समीक्षा गरिनुका साथै आगामी शैक्षिक योजनाहरू प्रस्तुत गरिएको थियो।

यसै शैक्षिक सत्रदेखि विद्यालयले कक्षा ९ को पठनपाठन औपचारिक रूपमा सुरु गरेको जानकारी दिइएको छ। विद्यालयले पूर्वमाध्यमिक तहसम्मको शिक्षालाई माध्यमिक तहमा विस्तार गर्दै गुणस्तरीय शिक्षाको नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विद्यालयलाई शुभकामना दिँदै स्थानीय तहबाट आवश्यक सबै प्रकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। उहाले भन्नुभयो, “स्थानीय तहमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि गाउँपालिका निरन्तर सहकार्य गर्न तयार छ।”

विद्यालयले हालै सार्वजनिक गरिएको कक्षा ८ को परीक्षाफलमा सम्पूर्ण मनहरी गाउँपालिकाभित्र प्रथम स्थान हासिल गरेको उल्लेख गरिएको छ। यस उपलब्धिले विद्यालयको शैक्षिक प्रगति स्पष्ट रूपमा देखिएको विद्यालय प्रशासनको भनाइ छ।

कक्षा ९ सञ्चालनसँगै अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ विद्यालय अघि बढेको र त्यसका लागि विद्यालय परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको समन्वय र सहयोगलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

कार्यक्रमको सफलताका लागि योगदान पु¥याउने सबैलाई धन्यवाद दिँदै विद्यालयले आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरेको छ।