मकवानपुरबाट हराएको ट्रक चितवनमा फेला : दुई  ट्रक धनीलाई बुझाइयो

Image

हेटौंडा / मकवानपुर जिल्लाबाट चोरी भएका दुई वटा ट्रक चितवनको खैरहनी नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गको सडकछेउमा फेला परेका छन्। ट्रकहरू फेला परेपछि सम्बन्धित धनीहरूलाई सनाखत गराई आज बुझाइएको प्रहरीले जानकारी दिएको छ।

मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ निवासी ४१ वर्षीय ईश्वर बलामीको नाममा दर्ता रहेको ना ३ ख ७३२० नम्बरको ट्रक २०८२ साल वैशाख ३० गते नवलपुरस्थित ग्यारेजबाट चोरी भएको थियो। यस्तै, हेटौंडा–३ निवासी ४६ वर्षीय हरि बहादुर डंगोलको मे १ ख १४५७ नम्बरको ट्रक जेठ १ गते आफ्नै घरअगाडिबाट चोरी भएको भनी पीडितहरूले प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

निवेदनका आधारमा गरिएको अनुसन्धानपछि जिल्ला चितवनको खैरहनी नगरपालिका–९ स्थित सडक किनारमा दुवै ट्रक फेला पारिएको हो। ट्रकहरू प्रहरी कार्यालयमा ल्याई पीडित धनीहरूलाई बोलाई सनाखत गराई एकिन भएपछी आज  गाडी धनीलाई बुझाइएको प्रहरीको भनाइ छ।

हाल चोरीमा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।