हेटौंडा/ मकवानपुर, जेठ ५ – मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–५ डिल्लिपुरका ३५ वर्षीय विष्णु प्रसाद सापकोटा केही दिनदेखि सम्पर्कविहीन रहेपछि स्थानीयस्तरमा चासोको विषय बनेका थिए। वैशाख ३१ गते बिहान करिब ११ बजे घरबाट निस्किएका सापकोटा जेठ ५ गते दिउँसो करिब २:२५ बजे कोइराला डाँडास्थित थलि जंगलमा मृत अवस्थामा फेला परेका छन्।
शव भेटिएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा अनुसन्धान टोली परिचालन गरिएको छ र प्रारम्भिक अनुसन्धान कार्य अघि बढाइएको छ।
घटनाले स्थानीय बासिन्दाहरूबीच गम्भीर चिन्ता र त्रास फैलिएको छ। “एक सामान्य व्यक्तिको यसरी रहस्यमय तरिकाले हराउनु र जंगलमा शव फेला पर्नु गम्भीर विषय हो,” एक स्थानीयले प्रतिक्रिया दिए।
यो घटनाले गाउँस्तरमा सुरक्षाको अवस्था कति कमजोर छ भन्ने प्रश्न पनि उठाएको छ। समयमै खोजी र प्रभावकारी अनुगमन प्रणालीको अभावले यस्तो घटना अझ भयावह हुन सक्ने खतरा देखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाउँदै निष्कर्षमा पुग्न समय लाग्ने जनाएको छ। स्थानीय बासिन्दाहरू भने घटनाको यथासिघ्र छानबिन गरी वास्तविकता बाहिर ल्याइनुपर्ने माग गरिरहेका छन्।

















