पूर्व–पश्चिम राजमार्गमा ओभरलोडका कारण पुल कमजोर, नारायणी यातायातको सरकारलाई ध्यानाकर्षण

Image

हेटौंडा/  पूर्व–पश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण पुल भाँचिने, सडक भासिने र दुर्घटना बढ्दै गएकोप्रति नारायणी यातायात व्यवसायी कम्पनी प्रा.लि. ले गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ।

बिहीबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले ओभरलोड सवारीका कारण राजमार्गमा संरचनागत क्षति बढिरहेको र त्यसले यात्रु तथा मालवाहक सवारी साधनलाई अनावश्यक सास्ती दिने स्थिति उत्पन्न भएको बताए।

“दैनिक रूपमा ओभरलोड सवारी साधन चलिरहेकाले पुलहरू चर्किन थालेका छन्, कतिपय स्थानमा त राजमार्ग नै भासिएको छ,” पराजुलीले भने, “यसबाट जनताको जीवन, समय र सम्पत्तिमा प्रत्यक्ष असर परेको छ।”

उनले पुलहरूको क्षमता वृद्धि र नियमित मर्मतसम्भार, भारवहन क्षमताको कडाइका साथ पालना, तौलपुलमा निगरानी सुदृढीकरण लगायतका उपाय तत्काल लागू गर्न सरकारसँग माग गरे। साथै राजमार्ग सुरक्षामा ध्यान दिनुका साथै सवारी चालक र सरोकारवालामा जनचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि उनले जोड दिए।

कम्पनीले ढुवानी क्षेत्रमा मूल्य अभिवृद्धि कर (VAT) पूर्ण रूपमा लागू गरिएको भए पनि त्यसको कार्यान्वयन कमजोर भएको उल्लेख गर्दै नीतिगत निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।