हेटौंडा/ बागमती प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम स्वीकृत गरेको छ। बैठक हेटौंडामा बसेको हो। स्वीकृत नीति तथा कार्यक्रम आज बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाद्वारा प्रदेश सभामा प्रस्तुत गरिएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, बैठकले विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
त्यसैअनुसार,निजी वनको साल प्रजातिको रुख कटान तथा ओसारपसार अनुगमन सम्बन्धी कार्यविधि, २०८२ लाई स्वीकृति दिइएको छ। यस कार्यविधिमार्फत प्रदेश सरकारले निजी वन क्षेत्रको निगरानी तथा अनुगमन गर्ने अधिकार प्राप्त गर्नेछ।
यस्तै सामाजिक विकास मन्त्रालयको तर्फबाट प्रस्तुत गरिएको बागमती प्रदेश स्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०८२ पनि मन्त्रिपरिषद्ले पारित गरेको छ। यस नीतिले लैङ्गिक तथा सामाजिक समावेशीता प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा प्रस्तावित समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा थप दुई सदस्य नियुक्त गर्ने निर्णय पनि गरिएको छ। पाँच सदस्यीय समितिमा बाँकी रहेका दुई पदमा नेत्रराज पौडेल थाक्रे गाउँपालिका–११, धादिङ र निशा न्यौपाने मन्थली नगरपालिका–१, रामेछाप लाई राजनीतिक सहमतिका आधारमा नियुक्त गरिएको हो।

















