डेङ्गु नियन्त्रणका लागि मनहरी गाउँपालिकाको सक्रिय तयारी

Image

हेटौंडा / गर्मीयाम सुरु भएसँगै डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने सम्भावना रहेकाले मनहरी गाउँपालिकाले रोकथाम तथा नियन्त्रणका लागि सक्रिय पूर्वतयारी थालेको छ।

यसअन्तर्गत मंगलबार गाउँपालिकाले स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सञ्चारकर्मीहरूका साथ अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा सहभागीहरूले डेङ्गु नियन्त्रणका उपायहरूबारे विस्तृत छलफल गरेका थिए।

गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र दाहालका अनुसार डेङ्गु गम्भीर प्रकृतिको रोग भएकाले सतर्कता अत्यन्त जरुरी छ। उनले भने, “सङ्क्रमण फैलिन नदिन समुदायस्तरमा सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ। विद्यालयहरूमा पनि विशेष जानकारीमूलक गतिविधिहरू गरिने छन्।”

दाहालका अनुसार लामखुट्टेको बासस्थान नष्ट गर्न घर वरिपरि, ग्यारेज र पानी जम्ने स्थानहरूमा सरसफाइ अभियान सञ्चालन गरिनेछ। यस कार्यमा स्थानीय सरोकारवालाको सक्रिय सहभागिता सुनिश्चित गरिने जनाइएको छ।

गएको वर्षको तथ्यांकअनुसार मकवानपुर जिल्लामै मनहरी गाउँपालिका डेङ्गु सङ्क्रमणका दृष्टिले दोस्रो प्रभावित क्षेत्र बनेको थियो। उक्त अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहाललगायतको उपस्थिति रहेको थियो।